नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।

हाम्रो बारेमा

सेप्टेम्बर ७, २०१६ मा एक गैर-नाफामुखी संस्थाको रुपमा दर्ता भएको यस नेपाली साहित्य समाज न्युजिल्यान्डले विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु मार्फत नेपाली भाषा र साहित्यको प्रचार– प्रसार तथा प्रबर्द्धनमा अनवरत योगदान गर्दै आएको छ ।

हाम्रो परिचय

न्युजिल्यान्डमा दर्ता भएका विभिन्न नेपाली संस्थाहरुले बेलाबखत आफ्ना न्युजलेटर र अन्य प्रकाशनहरुमार्फत नेपाली साहित्यलाई स्थान दिँदै आएको देखिन्छ । केही संस्थाहरुले नेपाली रेडियो सञ्चालन गरी नेपाली भाषा र गीत–संगीतमार्फत साहित्यको सेवा गर्दै आइरहेको पाइन्छ । त्यस्तै केही संस्थाहरुले नेपालीहरुलाई गोलबन्द गर्दै समय–समयमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर नेपाली भाषा र संस्कृतिलाई जगेर्ना गर्ने काम गर्दै आएको देखिन्छ ।

छुट्टै साहित्यिक संस्था नै स्थापना गरेर नेपाली भाषा र साहित्यको उत्थान गर्ने कार्य भने गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड, न्युजिल्यान्ड नेपाल सोसाइटी र न्युजिल्यान्ड नेप्लीज एसोसिएसनको संयुक्त प्रयासमा सन् २०१६ मार्च १८ मा भएको भेलाले साहित्यकार श्री पशुपति कर्माचार्यको नेतृत्वमा ८ सदस्यीय नेपाली साहित्य समाजको गठन पश्चात् सुरु भएको हो । उक्त कार्यसमितिको पहलमा न्युजिल्यान्डका विभिन्न ठाउँमा छरिएर बसोबास गरिरहेका साहित्यप्रेमी नेपालीहरुका लागि एउटा साझा साहित्यिक मञ्च सिर्जना गर्दै नेपाली भाषा, साहित्य र वाङ्मयको प्रचार– प्रसार तथा प्रबर्द्धन गर्न योगदान गर्ने हेतुले सेप्टेम्बर ७, २०१६ मा नेपाली साहित्य समाज न्युजिल्यान्डको स्थापना भएको हो ।

नेपाली साहित्य समाज न्युजिल्यान्डले आफ्‍नो स्थापना कालदेखि नै भौतिक उपस्थितिमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा ‘फेसबुक लाइभ’ मार्फत साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अनलाइन मार्फत सञ्चालन गरिने रचनावाचन कार्यक्रममा न्युजिल्यान्ड र नेपालका लगाएत बिश्वभरी विभिन्न भागमा बसोबास गरिरहनु भएका नेपाली–भाषी साहित्यकार तथा स्रष्टाहरुको सहभागिता रहँदै आएको छ । यसरी नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ ।

About Image