नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।

साहित्यिक कृति “स्पन्दनः शब्द सगरमाथा” सार्वजनिक

२९ अप्रिल २०२३ का दिन नेपाली साहित्य समाज र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले संयुक्त रुपमा प्रकाशन गरेको पहिलो साहित्यिक कृति “स्पन्दनः शब्द सगरमाथा” सार्वजनिक गरिएको छ । नेपाली साहित्य समाजका बरिष्ठ सल्लाहकार श्रीधर बस्न्यातको संयोजनमा न्युजिल्यान्डको अकल्यान्डमा आयोजित एक साहित्यिक कार्यक्रमका बिच उक्त कृति विमोचन गरिएको थियो । गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्घव अधिकारी, नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा. वीरेन्द्र केसी, ती दुइ संस्थाका संस्थापक अध्यक्षहरु क्रमस पशुपति कर्माचार्य र बाबुराजा महर्जन, नेपाली साहित्य समाज न्युजिल्यान्डका आजीवन सदस्यहरु प्रा. पीताम्बर शर्मा दाहाल, श्रीधर वस्न्यात, डा. भोला प्रधान, कमल श्रेष्ठ र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका महासचिव विकाश पोख्रेलले संयुक्त रुपमा कृति विमोचन गर्नु भएको थियो ।
यस कृति भित्र नेपाली साहित्य समाज न्युजिल्यान्डले बिभिन्न समयमा अनलाइनमार्फत सञ्चालन गर्दै आएका रचनावाचन कार्यक्रममा सहभागी साहित्यकार तथा स्रष्टाहरुका रचना समावेश गरिएको छ । समाजमा बिद्यमान विसङ्गति र विकृतिहरुका बिरुद्घ तथा आफन्त र आफ्नो देशप्रेमप्रति मनभित्र उब्जेका तरङ्गहरुलाई स्रष्टा तथा साहित्यकारहरुले कलात्मक ढंगले शब्दमा उनेको छन । साहित्यले समाजमा सुवास, सुन्दरता र सजिवता थप्छ भन्ने मान्यता राखेर लेखिएका यी सिर्जनाहरु मार्फत समाजमा प्रकाश छर्ने प्रयत्न गरिएको छ ।
प्रा. पिताम्बर शर्मा दाहाल र पशुपति कार्माचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको सो विमोचन कार्यक्रममा न्युजिल्यान्ड नेपाल सोसाइटीका अध्यक्ष डा. सन्तोष भण्डारी, न्युजिल्यान्ड नेप्लिज एशोसिएसनका सचिव डा. श्रु्रती सिंह र अवैतनिक वाणिज्यदुत दिनेश खड्काले शुभकामना मन्तव्य दिनुभएको थियो ।
समाजका उपाध्यक्ष नमिता दवाडी र पदाधिकारीहरु टिका रेग्मी र गोपाल पौडेलले संचालन गर्नु भएको सो कार्यक्रममा अकल्यान्ड लगायत न्युजिल्यान्डका बिभिन्न ठाउँहरु वैलिङ्गटन, क्राइस्टचर्च, पालमर्थटन नर्थ, टौरङ्गा बाट आउनुभएका सत्तरी जना जति नेपाली भाषा र साहित्य प्रेमीहरुको उपस्थित थियो । कार्यक्रममा प्रा. पीताम्बर शर्मा दाहाल, पशुपति कार्माचार्य, डा. भोला प्रधान, श्रीधर वस्न्यात, बाबुराजा महर्जन, युवराज भण्डारी, नमिता दवाडी, बिकाश पोख्रेल, विनोद भौकाजी, विनोद आचार्य, डा. प्रकाश जोशी, टिका रेग्मी, गोपाल पौडेल र देवी शर्माले रचना वाचन गर्नु भएको थियो । बिचबिचमा नेपाली पोसाकमा सजिएका कलाकारहरु द्घारा प्रस्तुत नृत्यहरुले कार्यक्रमलाई थप आकर्षक वनाएको थियो ।
कार्यक्रमका सभाअध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।

Share this event: