नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।

कवि पशुपति कर्माचार्य नेसास साहित्य सृजना सम्मान २०२२ बाट सम्मानित

नेपाली साहित्य समाज न्युजिल्यान्डले समाजका संस्थापक अध्यक्ष कवि पशुपति कर्माचार्यलाई नेसास नेपाली साहित्य सृजना सम्मान २०२२ बाट सम्मानित गरेको छ । नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासिय नेपाली संघ न्युुजिल्यान्डको आयोजनामा १९ नोभेम्बर २०२२ का दिन न्युुजिल्यान्डको क्राइस्टचर्चमा सम्पन्न लक्ष्मी जयन्ती समारोहमा साहित्य समाजका अध्यक्ष डा वीरेन्द्र केसी तथा सल्लाहकारहरु डा भोला प्रधान र बाबुराजा महर्जनले उक्त सम्मान प्रदान गर्नु भएको थियो । कवि पशुपति कर्माचार्यका यादका आयामहरु, मुटुमा बुद्घ बोकेर, समानताको चिराग बोकेर कविता संग्रह र फूलका थुङ्गा, रुखमा बुद्घ हाइकु संग्रह गरि पाँच वटा कृतिहरु प्रकाशित छन । सम्मान पछि कार्यक्रममा बोल्दै कवि कर्माचार्यले आफुले जन्माएको संस्थाबाट सम्मानित हुन पाउँदा गर्व महशुस भएको र थप लेखनका लागि हौशला मिलेको कुरा बताउनुभएको थियो । नेपाली साहित्य समाज न्युजिल्यान्डले नेपाली साहित्य सृजनामा अविछिन्न रूपमा योगदान पु¥याउँदै आउनु भएका स्रष्टा तथा साहित्यकारलाई उहाँहरुको योगदानको कदर गर्दै हरेक बर्ष “नेसास नेपाली साहित्य सृजना सम्मान” प्रदान गर्ने गर्दछ ।
त्यस्तै साहित्य समाज न्युजिल्यान्डले नेपाली भाषा र साहित्यको प्रवर्धनमा योगदान पु¥याउँदै आउनु भएका ब्यक्ति तथा संध संस्थाहरुलाई हरेक बर्ष “नेसास नेपाली साहित्य सेवा सम्मान” प्रदान गर्ने गर्दछ । समाजले आफ्नो स्थापनाकाल देखि पु¥याउँदै आएको बिशिष्ट योगदानको कदर गर्दै यो बर्षको “नेसास नेपाली साहित्य सेवा सम्मान” गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड, न्युजिल्यान्ड नेपाल सोसाइटी र न्युजिल्यान्ड नेपाल एसोसिएसनलाई प्रदान गरेको छ । उक्त सम्मानहरु पनि सोहि लक्ष्मी जयन्ती समारोहमा प्रदान गरिएको थियो । जस अन्र्तगत गैर आवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष उद्घव अधिकारीलाई साहित्य समाजका अध्यक्ष डा वीरेन्द्र केसीले, न्युजिल्यान्ड नेपाल सोसाइटीलाई नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका अध्यक्ष अशोक श्रेष्ठले र न्युजिल्यान्ड नेपाल एसोसिएसनलाई क्यान्टरवरी नेपालिज सोसाइटिका अध्यक्ष दिपक पाण्डेले सम्मान प्रदान गर्नु भएको थियो ।
डा. जया तिवारीको संयोजनमा आयोजित उक्त लक्ष्मी जयन्ती कार्यक्रम समाजका सचिव गोपाल प्रसाद कँडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा साठि जना नेपाली भाषा र साहित्य प्रेमी महानुभावहरुको उपस्थित थियो भने समाजका सल्लाहकारहरु डा. भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य लगाएत बिस जना स्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो । रचना वाचनको बिचबिचमा साना नानीहरुको नृत्य पनि समावेश गरिएको थियो ।

Share this event: